Breaking News

थाहानगरमा नेपाल सम्वत् ११३८ को स्वागत

नेवारी संस्कृति संरक्षणमा क्रियाशील संघसंस्था तथा समुहको आयोजनामा नेपालको मौलिक संवत् तथा राष्ट्रिय संम्वत नेपाल सम्वत ११३८ को स्वागतार्थ थाहानगरमा बृहत भिन्तुना मोटरसाइकल ¥याली गरिएको छ । 
पालुङ सांस्कृतिक सम्पदा संरक्षण समिती थाहा–२, पालुङको मुख्य आयोजना तथा पालुङ युवा समाज, थाहा–२ पालुङ, हातेमालो युवा समाज थाहा–२ पालुङ, ओखरबजार हितकारी श्रृजनशिल युवा समूह थाहा–१ र गोपाली सांस्कृतिक समुह थाहा–३, गोपालीगाउँको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
स्वागत ¥याली पालुङको लाम्पाटीबाट सुरु भइ इन्द्राायणी चौर–ओखरबजार–थानाबजार–दोबाटो–शिखरकोट–गोपालिगाउँ–पसल चौर–फाँटबजार–फुलपाती चौर–महादेवस्थान–चाकचा पुल हुँदै पुनः लामपाटीमा नै आइ नेपाल संवत स्वागत सभामा परिणत भएको थियो । थाहा    नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको नेपाल संवत् स्वागत सभा उपप्रमुख खड्ग बहादुर गोपाली विशेष अतिथी रहेका थिए । 
पालुङ सांस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जंगली राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको ¥याली समापन तथा नेपाल संवत स्वागत सभामा  वडा नं १ का अध्यक्ष हेरमान गोपाली, वडा नम्बर २ का अध्यक्ष  गुप्त बहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम पालुङ युवा समाजका उपाध्यक्ष संजित श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रमका सहभागी तथा अतिथीहरुलाई समाजका अध्यक्ष बिजय बिक्रम श्रेष्ठले स्वागत गरेका थिए । अध्यक्ष श्रेष्ठले कार्यक्रममा स्वागत गर्दै नेवारी भाषा र संस्कृतिको संरक्षणमा सबै एकजुट हुन आग्रह गरे । उनले संस्कृति संरक्षण सबैको प्राथमिकताको विषय बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै इन्द्रायणी काला भैरब गूठीका अध्यक्ष श्याम भक्त श्रेष्ठले नेपाल सम्वत  नेवारीहरुको मात्रै सम्वत नभई आम नेपालीहरुको राष्ट्रिय सम्वत भएकोले यसको व्यापक प्रयोग र कामकाजी संवत् बनाउन आग्रह गरे । रेडियो आवजका स्टेशन मेनेजर राजेश श्रेष्ठले नेवारी भाषाको प्रयोगलाई बढोत्तरी गर्न आवश्यक रहेको औल्याए । नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथी खड्ग गोपालीले सांस्कृतिक संरक्षणमा सम्पुर्ण थाहा नगरबासी एकजुट हुनुपर्ने बताए । गोपालीले सांस्कृतिक    संरक्षणमा सहयोग गर्न नगरपालिका तयार     रहेको बताए । प्रमुख अतिथी थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले थाहानगर सांस्कृतिक रुपमा धनी रहेको उल्लेख गर्दै त्यसमा पनि नेवारी समुदाय संस्कृति संरक्षणमा अघि रहेकमा प्रशंसा गरे । यस किसिमको परम्परागत र ऐतिहाँसिक कला संस्कृति संरक्षणमा ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा २ नं वडा अध्यक्ष गुप्त बहादुर कार्कीले मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्धेश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको बताए । उनले नेपाल सम्वतको स्वागतार्थ निकालिएको भिन्तुना ¥यालीले जातीय सद्भाव कायम राख्न सघाएको बताए ।  कार्यक्रममा ओखरबजार हितकारी श्रृजनशील युवा समूहका अध्यक्ष संजय प्रधान लगयतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने ¥यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । ¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । यस किसमिको कार्यक्रम थाहानगरको बज्रवाराहीमा पनि आयोजना गरिएको थियो ।
नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्वत चलाएका हुन् । सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत हो ।

साभार:बिकासखबर