Breaking News

थाहा नगरपालिका मुलुककै उत्कृष्ट स्थानीय तह, संघीय मन्त्रालयबाट पुरस्कृत

मुलुकभरको ७ सय ५३ स्थानीय निकायहरुमध्ये मकवानपुरको थाहा नगरपालिका उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७४/७५ को बेरुजु अंकको ९६ दशमलब ०६ प्रतिशत फछ्र्यौट गरेकोमा आर्थिक सुशासन कायम गरेकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको समेत गरेको छ ।
पुरस्कृत हुने स्थानीय निकायमा थाहा नगरपालिका एक मात्र स्थानीय निकाय हो । हिजो (असार ३० गते) नेपाल सरकार सचिवस्तरको निर्णयले बेरुजु फछ्र्यौट कार्ययोजना र मार्ग निर्देशिका अनुसार काम गरेकोमा सो नगरपालिकाका कर्मचारीहरुलाई प्रशंसा–पत्र सहित पुरस्कृत गरेको छ ।
मन्त्रालयले नगरपालिकामा आर्थिक अनुशासन कायम गर्न सफल भएकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई जनही ५ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ ।
आफ्नो नगरपालिका उत्कृष्ट भई पुरस्कृत भएकोमा नगरप्रमुख लवशेर विष्टले यस कार्यमा उल्लेखनीय योगदान पु-याउनुहुने कर्मचारी, स्थानीय नागरिक, सञ्चारजगत, राजनैतिक दल सहित सबैमा आभार व्यक्त गरेका छन् ।
देशका सबै स्थानीय निकायहरुमा थाहा नगरपालिका अघिल्लो आर्थिक बर्ष चौथो भएको थियो ।