Breaking News

Shree Swasthani Brata Katha - Part 1 (श्री स्वस्थानी ब्रत कथा - पहिल अध्...


अघि कुनै समयमा मुनीहरुमा श्रेष्ठ भएका अगस्तमुनी मौन मुद्रामा तपस्या गरि बसेका थिए। त्यही ठाँउमा मयुरको बहानमा चढी कुमारजी टुप्लुक्क आइपुग्नु भयो। अकस्मात आफ्नो आश्रममा भगवान कुमारजी आएको देखेर भित्रि मनदेखि प्रसन्न भई श्रदा भक्तिपूर्वक चाकडी,चाप्लुसी गरिकन, हे कुमारजी,यो पृथ्बीको उत्पत्ति कसरी भयो? विस्तारमा बयान गरि बक्सियोस्, भनि अगस्तमुनीले बिन्ति गर्दा भए।

अगस्त मुनिको प्रश्न सुनेर कुमारजी खिस्स दाँत देखाउँदै फिस्स हाँस्नु भयो र पृथ्बीको उत्पति हुँदाको सम्पूर्ण इतिहास बिस्तारमा सुनाउनु भयो। 

 यो सारा-संसारको कथा सुनेर अगस्त मुनि खुसीले गदगद भए।

 त्सपछि अगस्तमुनि भन्छन-हे कुमारजी हजुर कस्ता भने, सम्पूर्ण ज्ञान भएका सर्बज्ञानी,बिद्याका खानी,साह्रै बुद्दिमानी होइबक्सिछ। म कस्तो भने, बाल्यकालदेखि स्वर्गमा मौन तपस्या गरिबसेको,घोर अज्ञानी,केहि नजान्ने,केहि नदेखेको बुद्दिहिन छु। मलाई यो ब्रह्माण्डको बारेमा कुनै ज्ञान छैन। त्यसैले हे सर्बज्ञाता यो पृथ्बीमा बस्ने मनुष्य भन्ने प्राणी कस्तो हो? मैले बुझ्न सकिनँ,त्यसैले हे ब्रह्मज्ञानी मनुष्य र पशु बीच के-कस्ता फरक छन्? प्रष्ट पारी बक्सियोस् भनि बिन्ति गरे।अगस्तमुनिका कुरा सुनेर कुमारजी मुस्कुराउँदै आज्ञा गर्नुहुन्छ। हे मुनिश्वर एक चित्त भइ सुन।मनुष्य पृथ्बीको सबैभन्दा श्रेष्ठ प्राणी हो। त्यसैले उ सधै तनाबग्रस्त रहन्छ। मानसिक रोगि हुन्छ,पागल हुन्छ र आत्महत्या गर्छ।जनवारहरु बुद्धिहींन हुन्छन्। त्यसैले सधै आनन्दित रहन्छन्। पागल हुँदैनन् र आत्महत्या पनि गर्दैनन्। 

पशुहरु अनपढ भएर पनि सिधा,सरल र इमान्दार हुन्छन्। मनुष्यहरू पढे,लेखेर पनि छली, कपटी, अहंकारी,पापी,क्रोधी,भोगी,लोभी र झुटो बोल्ने हुन्छन्। पशुहरु धैर्यवान,शान्त,र निर्दोष हुन्छन्।तर, मनुष्य सधै समुद्रको छालझैँ चञ्चल, अधैर्य,असन्तोषी हुन्छन्।

पशु अज्ञानी भएपनि आफ्नो जातिलाई छुवाछुत र भेदभाब गर्दैन। तर मनुष्य चेतनशील प्राणी भएर पनि आफ्नै जातिलाई छुवाछुत र भेदभाब गर्छ। 

 पशुहरुको कुनै नेता हुदैन,पाठशाला,मठ,मन्दिर,चर्च,मस्जित केहि हुँदैन तरपनि उनीहरुको जीवन सधै सुखमय,शान्तिपूर्ण,भयरहित तरिकाले चलिरहेको हुन्छ। मनुष्यको दुनियांँमा सरकार हुन्छ। पुलिस,सेना हुन्छन्। नेता हुन्छ,शिक्षक हुन्छन्, पण्डित,पुरोहित हुन्छन् तर पनि उनीहरुको समाजमा सधै हत्या,हिंसा,चोरी,डकैति,घुसखोरी,गुन्डागर्दी तथा विभिन्न खाले उपद्रो भैरहन्छ।

 मनुष्यहरुको समाजमा विभिन्न खाले संघ,सस्थाहरु क्रियाशिल हुन्छन्। मानव अधिकार,महिला अधिकार,बाल अधिकार संरक्षणकोलागि रातदिन छलफल र बहस गर्छन्। तरपनि उनीहरुको समाजमा दैनिक बलात्कार हुन्छ। जबर्जस्ति करणी,घरेलु हिंसा,बाल शोषण,श्रम शोषण,यौन शोषण भैरहन्छ।

पशुहरुको समाजमा कुनै संघ,सस्था हुदैन,तरपनि उनीहरु कसैलाई बलात्कार गर्दैनन्। कसैको शोषण गर्दैनन्। 

मान्छेहरुसँग धन,सम्पत्ति छ ,भौतिक सुविधा छ। बस्ने घर छ,खाने बन्दोबस्त छ।पद,प्रतिष्ठा र इज्यत छ। र उनीहरु सधै अशान्त,बेचैन र दुखि हुन्छन्। पुशुहरुसँग बस्ने घर हुन्न। साँझ-बिहान के खाने ठेगान हुदैन्। धन-सम्पत्ति मान-सम्मान केहि हुन्न तरपनि उनीहरु सदा सुखी,शान्त र स्थिर हुन्छन्।

 पशुहरु निस्फिक्री नांगै घुमफिर गर्छन्, तरपनि कामुक र उत्तेजक देखिन्नन्। मान्छेहरु बिभिन्न पोशाकमा सजिएर हिडेपनि कामुक र उत्तेजक हुन्छन्।

 पशुहरु अज्ञानी र मूक भएपनि उनीहरुले कसैलाई कुटपिट र अन्याय गर्दैनन्। मानिसहरु शब्य र शिक्षित भएपनि उनीहरुले छिमेकीसँग झगडा गर्छन,श्रीमतीलाई कुटपिट गर्छन्। जिउँदै आगो लगाऊछन्। तेजाब खन्याउछन्,अन्याय र अत्याचार गर्छन्। हे अगस्तमुनि मैले मनुष्य र पशुबीच हुने भिन्नताहरु संक्षेपमा बताए अब तिमीलाई के सुन्ने इच्छा छ प्रश्न गर भनि कुमारजीले भन्नु भयो।

 अगस्तमुनि भन्छन्  -हे कुमारजी मलाई मनुष्यको बारेमा अझै धेरै जान्ने इच्छा जाग्यो। त्यसैले अरु के-कस्ता भिन्नता छन् प्रष्ट गरि बक्सियोस्।

 त्यसपछि, हे अगस्तमुनि, बाँकि चर्चा दोस्रो अध्यायमा गरौँला भनि कुमारजी अन्तरघ्यान हुँदा भए।

 इति श्री स्कन्द पुराणे, केदारखण्डे,माघ माहात्मे कुमार-अगस्थे सम्बदे,श्री स्वस्थानी ब्रत कथा प्रथमोथ्याय समाप्त।