किलोको ३० हजार पर्ने गुच्ची च्याउ दामनमा भेटियो
मकवानपुर । कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा पाइने अति महँगो गुच्ची च्याउ मकवानपुरको दामनमा भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने तथ्याङ्क सार्वजनिक गरिरहेको बेला दुई हजारदेखि दुई हजार ५०० मिटरबीच दामन क्षेत्रमा यो च्याउ फेला परेको हो ।
दामनको जङ्गलमा केही स्थानमा गुच्ची च्याउ फेला परेको दामनस्थित एभरेष्ट युवा क्लब दामनका अध्यक्ष शिबकुमार खत्रीले बताए । ‘हाम्रो वनमा पहिले देखि नै यो च्याउ पाइने रहेछ, तर यसको महत्व र नाम थाहा नपाउँदा त्यतिकै खेर गइरहेको थियो,’ खत्रीले भने ।
गुच्ची च्याउ लगायत उच्च पहाडि क्षेत्रमा पाइने धेरै जङ्गली खाद्यफल दामन क्षेत्रमा पाइन्छ । गुच्चीसहित मृगे च्याउ, कन्ने चाउ, गोठाले च्याउ, खरानी च्याउ, ऐँसेलु, काफल, गुुफ्ला, सिँगौटा, चुत्रो, कटुस लगायत जङ्गली खाद्यफल पाइने गरेको स्थानीयहरु बताउँछन् ।
फागुनदेखि उम्रने गुच्ची च्याउ वर्षासहित पर्ने चट्याङ र मेघ गर्जनको आवाजले मात्र उम्रने जनविश्वास छ । भीरपाखासहित समथर वनमा पाइने गुच्ची च्याउ दामन क्षेत्रमा फेला परेपछि मकवानपुरको अन्य पहाडी क्षेत्रमा पनि पाइने अनुमान गर्न थालिएको छ ।
दामन क्षेत्रमा चैतदेखि जेठको आधाउधीसम्म जङ्गलमा गुच्ची च्याउ देखिने गरेको छ । यसलाई कतिपयले पोलेर खाने गरेका थिए भने कतिपयले विष लागेर मरिएला भन्ने डरले वास्ता गर्दैनथे । झट्ट हेर्दा च्याउजस्तै नदेखिने भएकाले धेरै जसो स्थानीयले भने स्थानीय रुपमा बाँको भनिने विषालु विरुवाको फूल सम्झने गरेका थिए ।
नास्टका वरिष्ठ वैज्ञानिक जयकान्त रावतका अनुसार विश्व बजारमा च्याउको कूल उत्पादन १५० टन भएकोमा नेपालले ५ देखि १० टन गुच्ची च्याउ निर्यात गर्दै आएको छ । गत वर्ष सुदुर पश्चिम र कर्णाली क्षेत्रमा गुच्ची च्याउ प्रति केजी २० हजारदेखि ३० हजार रुपैयासम्ममा विक्री भएको थियो ।
नास्टका वरिष्ठ वैज्ञानिक जयकान्त रावतका अनुसार विश्व बजारमा च्याउको कूल उत्पादन १५० टन भएकोमा नेपालले ५ देखि १० टन गुच्ची च्याउ निर्यात गर्दै आएको छ । गत वर्ष सुदुर पश्चिम र कर्णाली क्षेत्रमा गुच्ची च्याउ प्रति केजी २० हजारदेखि ३० हजार रुपैयासम्ममा विक्री भएको थियो ।
वरिष्ठ वैज्ञानिक रावतका अनुसार वातावरणीय विविधताका कारण नेपालमा एक हजार १५० जातका च्याउ पाइन्छ । त्यसमध्ये विषालु च्याउ एक सय प्रजाति, औषधीय गुण भएका ७३ प्रजाति र खान हुने एक सय ४७ प्रजातिका च्याउ भेटिएका छन् ।
नास्टको तथ्याङ्कअनुसार सन् २०१६ मा विश्व बजारमा खान हुने च्याउबाट सात अर्ब रुपैया बराबरको व्यापार भएको थियो भने औषधीय गुण भएको च्याउको विश्व बजार सन् २०१७ मा ३८ बिलियन अमेरिकी डलर पुगेको थियो ।
च्याउमा भिटामिन ‘बी’ का विभिन्न प्रकार र खनिज तत्व पाइन्छ । संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् । तीमध्ये १० प्रतिशत च्याउसँग मात्र मानिसको ज्ञान र पहुँच पुगेको छ । मोरेल र गुच्चीजस्ता प्रजातिका च्याउ अति महँगो मानिन्छ । उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु मान्निछ ।
दामन र आसपासका जङ्गलहरुमा दर्जनौं जातका च्याउहरु पाइने भए पनि पहिचान हुन नसक्दा त्यसबाट आय आर्जन गर्न नसकिएको करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विनोद लामाले बताए । लामाका अनुसार वषौंदेखि खान हुने भनी पहिचान भएका च्याउ टिपेर खाने गरेको र छिटफुटरुपमा स्थानीय स्तरमै मृगे च्याउको व्यापार भइरहेको छ ।
विगतको तुलनामा कतिपय जङ्गली खाद्यफल लोप हुँदै गएको र कतिपय खाद्यफलको पहिचान नै हुन नसक्दा यससम्बन्धी अध्ययन नै गर्न आवश्यक रहेको र अनुसन्धानका लागि सम्पर्क श्रोतको खोजी गरिरहेको उनले बताए ।
दामन क्षेत्रको वनमा यार्सासमेत पाइने स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन् । तर यसको अनुसन्धान हुन भने बाँकी छ । नास्टका अनुसार सुदूरपश्चिममा ७२ प्रतिशत, कर्णालीमा २७ र अन्य स्थानमा एक प्रतिशत यार्सागुम्बा उत्पादन हुँदै आएको छ ।
साभार :- राजधानी दैनिक