Breaking News

सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घट्यो

 

सुनको मूल्य प्रति तोला एकै दिन छ हजार दुई सय रुपैयाँले घटेको छ । लगातार उकालो लागेको सूनको आउ आज ह्वातै ओरोलो लागेको हो । आज छापावाल सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुन प्रति तोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो । नेपालमा एकैदिन धेरै रुपैया घटेको यो पहिलो घटना भएको सुनचादी ब्यवसायीले बताएका छन् ।

त्यस्तै तेजावी सुन पनि प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । चाँदी पनि तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा कारोवार भएको छ ।

रुसले कोरोना भाइरस बिरुद्धको खोप तयार गरेको खबर सार्वजनिक भए लगत्तै अन्र्तराष्ट्रिय बजारमा नै सुनको मुल्य सस्तो भएपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । सुनको मूल्य आइतबारदेखि ओरालो लाग्न थालेको थियो ।

आइतबार प्रतितोला नौ सय, सोमबार दुई सय र मंगलबार ८०० रुपैयाँले सुनको भाउ घटेको थियो । यसअघि गत शुक्रबार नेपाली बजारमा सुन अहिलेसम्मकै सर्वाधिक प्रति तोला एक लाख तीन हजार पाँच रुपैयाँमा कारोवार भएको थियो ।