Breaking News

भारतीय वेब सिरिज 'पाताल लोक' मा नेपाली महिलालाई तुच्छ गाली, 'अुनष्का शर्माले माफी माग्नुपर्छ'

भारतीय अभिनेत्री अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज 'पाताल लोक' मा नेपाली महिलालाई तुच्छ शब्द प्रयोग गरिएको भन्दै विरोध भएको छ।
अमेजन प्राइम भिडियोमा प्रसारण हुने उक्त सिरिजमा एक महिला प्रहरीले अर्की महिलासँग अनुसन्धानका क्रममा नेपाली महिलाको अपमान हुनेगरि गाली गरिएको छ। उक्त भिडियो सार्वजनिक भएपछि नेपालमा विरोध भएको हो। नेपाली कलाकारहरुले सामाजिक संजालमार्फत् संवादको विरोध गर्दै त्यसलाई हटाउन माग गरेका छन्।  
अभिनेत्री  रेखा थापा भारतले लिम्पियाधुरा अतिक्रमण गरी नेपालको सार्वभौमसत्तामाथि धावा बोलेको र बलिउडका फिल्म र सिरियलमा नेपालीको मानमर्दन हुने गरी संवाद राखिएकोप्रति आपत्ति जनाएकी छिन्। उनले नेपाली महिलालाई गाली दिइएको शब्द हटाउनु पर्ने भन्दै अनुष्काले माफी माग्नुपर्ने बताएकी छिन्।
सामाजिक सञ्जालमा अनुष्कालाई ट्याग र मेन्सन गर्दै संवाद हटाउन र माफी माग्न माग गरिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सिरियलविरुद्ध रिपोर्ट गर्न र नेगेटिभ र्‍याङकिङ दिन समेत आह्वान गरेका छन्।  
अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी, गायिका अभय सुब्बा लगायतले समेत उक्त तुच्छ संवादले सम्पूर्ण नेपाली नारीको अपमान भएको भन्दै विरोध गरेका छन्।
केकी अधिकारीले भने महिलालाई त्यसरी नै तुच्छ गाली नेपालमै पनि प्रयोग हुने भन्दै आफूतिर पनि फर्केर हेर्न टिप्पणी गरेकी छिन्।
उनले लेखेकी छिन्,' हो हामीबाटै सिकेका हुन्। यिनीहरुलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उक्साएका हौं। छातीमा हात राखेर भन्नुस् त हामीले आफ्नै देशका दिदी-बहिनीलाई यस किसिमको अपहेलना किन गरेका छौं? अनि हामी यो आशा गरिरहेका छौं कि अरु चाहिँ बदलिउन्। तर आफूलाई त जति पनि अधिकार छ महिलाको चरित्र हत्या गर्ने? हैन? '