Breaking News

थाहा नगरमा दिनभरि काम गरे ५ साय नगद र ९ किलो चामल

मकवानपुरको थाहा नगरपालिकाले राहत वितरणलाई विकाससँग जोडेर नयाँ अभ्यास शुरु गरेको छ । बन्दाबन्दीका कारण दैनिक काम नपाएकालाई नगरपालिकाले नै काम दिने र दिनभरी काम गरेपछि पाँचसयर र नौ किलो चामल दिनेछ ।नगरपालिकाले राहत वितरण सम्बन्धी कार्यविधि नै बनाएर यस्तो अभ्यास शुरु गरेको जनाएको छ । वडा कार्यालयको सिफारिसमा श्रमदानमा आधारित राहत भएपछि चाहिनेले काम गरेर नै लैजाने नगर प्रमुख लवशेर विष्टले बताए ।
अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिका भएका परिवारलाई कार्यविधिले तोकेको मापदण्ड अनुसारको राहत घरैमा पुर्याउने व्यवस्था गरिएको उनले बताए ।
थाहानगरमा अन्यत्रबाट आई दैनिक ज्यालादारी गरी गुजारा गरिरहेकाहरुलाई पनि काम दिने नगरपालिकाले जनाएको छ । त्यसका लागि विवरण तयार गर्ने काम भइरहेको छ ।
थाहानगरमा अहिलेसम्म मकवानपुरमै सबैभन्दा कम एकसय ४२ जनालाई मात्र राहत वितरण गरिएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर/हिमालखबरबाट