Breaking News

पालुङ्मा पृथ्वीनारायण शाहले छाडेका एक द्र्ब्य अन्तिम अवस्थामा

पालुङ् उपत्यका शिक्षा, सस्कृति र प्राचिन पुरातत्वका बस्तु, अवशेषहरु प्रचुरमात्रामा पाइएता पनि, संचारीय साधनको कमी तथा सरकारी निकायको दृष्टि यस क्षेत्रमा पर्न नसकेको कारण यहाँका पौराणिक पुरातात्विक महत्वका अवशेषहरु ओझेलमा परी नष्ट हुने अवस्थामा पुगेको छन् । यिनै प्रकृतिमा निलय हुने र आफ्नो पौराणिक पुरातात्विक श्रृङ्गारलाई झल्काइ राख्ने जिर्ण अठोट बोकेर लामो जीवनको अन्तिम मोडमा उभिरहेको पालुङ् उपत्यकाको सबैभन्दा पौराणिक महत्वका श्रष्टा सातसय पालुङ्को जीवित प्रतिविम्व हो “टखा छे” (ठूलो घर) अथवा अर्को शब्दमा “कु छे” (कुल घर) यस “टखा छे” (पौराणिक दरवार) पालुङ्ग गा.वि.स वाड नं. ६ कुछें टोलमा पर्दछ । यस दरवार “टखा छे” को लामो इतिहास छ । नेपालको मध्य युगिन मल्ल शांसनकाल तथा पन्दौ् शताब्दीताका ललीतपुरका शक्तिशाली ६ प्रधानहरुले अवैध टक छाप्ने (पैसा छाप्ने) कार्य गरेका हुँदा तत्कालिन शासकहरुले १. टक छाप्ने २. राजाको छोरी ताक्ने ३. कुरा साटने ४. गधी ताक्ने भने आरोप लगाई सजाय सोरुप जंगल फाँडी बस्नु भनी केहि भाइ भारदार फौजी जवान समेत पठाई चार भञ्ज्याङ्ग कटाइ पठाएका थिए । सोही ब्यक्ति जवानहरुले ललितपुरदेखी ईट्टा ल्याई सो दरवार (टखा छे) बनाएका थिए र सोही ब्यक्ति र अन्य ब्यक्तिहरुले ब्यवस्थित पालुङ् शहर बनाई छुटै राज्यको घोषणा गरे जसलाई तत्काल “सात सय पालुङ्” ले पनि परिचित थियो । यस वृहत पालुङ् शहर तथा तत्कालिन सातसय पालुङ् त्यतिखेर धर्म, सस्कृति, नाचगानमा अग्रणी थियो । पाण्डुकेश्वर मन्दिर कलात्मक र पशुपति मन्दिरको शैलीमा थियो र मन्दिरको चारैतिर शहर बिस्तृत थियो (हालको पाण्डुकेश्वर शहरको बीच भागमा थियो) आफ्नो परम्परा अनुसार संस्कृतिक, मठ मन्दिर, नाचगान र समृद्घिमा अग्रणी यस पालुङ् राज्यमा एक्कासी विक्रम संम्वत १८१९ ताका ठूलो बज्रपात भयो । पृथ्वीनाराय शाह र उनका फौज आई एक्कासी पालुङ् राज्यमा आक्रमण गरे । तीन दिनसम्म महाघोर संग्राम (युद्घ) गरे । सयौँ मरिए, मारिए तैपनि जित्न नसकेपछि मध्य रातमा सो दरवारमा (टखा छेँ) मा एक महिला सुत्केरी हुने अन्तिम छट्पटाइमा रहेको देखि सो दरवारमा (टखा छेँ) केहि नगरी फर्केका थिए । यसरी पालुङ् राज्य विलिन हुन पुगेको थियो । यस कथनका हालसम्म कुनै लिखित प्रमाण नदेखिए पनि, पालुङ् शहरमा र हनुहुने हालका बुढापाकाहरु स–गौरव बताउनुहुन्छ । पालुङ् एकीकरण हुनुभन्दा पहिले छुट्टै वृहत राज्य थियो भन्ने कुरा छे बु फाँट र महादेव फाँट उत्खनन् गर्दा प्रमाणित हुन्छ । सो स्थानहरुमा केहि गहीरो खन्दा ढुङ्गा तथा इट्टाका गाहृोहरु, मुर्तिहरु, ठूल्ठूला भोटे ताल्चाहरु, हँसिया तथा खुकुरीहरुका मुठ्ठाहरु, भाँडाकुँडाहरु,पैसाहरु, डढेका धानका थुप्राहरु, गोलका थुप्राहरुले प्रमाणित गर्दछ । अझ तलेजु डाँडा र कोटघर डाँडा उत्खनन् गर्ने हो भने अनेकौँ प्रमाणहरु भेटिन्छन् । यस कथनको थप अर्को प्रमाण संग्राम खोला जहाँ संग्राम (युद्घ) हुँदा रगतको खोला बगेकोले सो खोलाको नाम संग्राम नाम रहन गएको हो । र हालपनि पूर्व स्मृतिले गर्दा सो खोलाको पानि कसैले पनि पिउदैनन् । यस अर्थमा टखा छे (दरवार) पुरानो अवशेष हो र सातसय पालुङ्ग तत्कालिन छुट्टै राज्य हो । यसमा कसैको दुईमत नहोला । सो समयमा पालुङ् शहरवाट परिचित सो स्थानलाई हालपनि पालुङ् शहरनै बोल्दछन् । यसरी पौराणिक कथा र अवशेष बोकेको टखा छे जीवन भरणको दोसाँधमा उभिइरहेको छ । कलात्मक झ्याल ढोका, ईटाको बनोट, टुंडालहरुले हामीलाई पक्कै प्राचिनताको बोध गराउदछ । यस्तो प्राचिन, पौराणिक महत्व बोकेको सिमित श्रोत मध्येको एक श्रष्टा “टखा छे” जीर्ण उद्यारको लागी सचेत पालुङ् उपत्यकावासीले गहन दायित्व देखाउने हो कि ?
पुनश्चः यस दरवार (टखा छे) पौराणिक, पुरातात्विक हो भन्ने कुरा पुरातात्विक विभागद्रारा प्रकाशित “प्राचिन नेपाल” को भाग ११+१२ अंकमा प्रकाशित छ ।