Breaking News

‘हामी बाँचे मात्रै पर्यटक आउलान्, अहिले पर्यटकलाई स्वागत नगराैँ’

पालुङ – कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण अहिले विश्वभरको जनजीवन प्रभावित भएको छ । यसबाट तीन हजार जनाको ज्या न गइसकेको छ, ८७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण ६० भन्दा बढी देशमा फैलिसकेको छ । विश्वका धेरै देशले अहिले कोरोनाबाट बच्न पर्यटकीय गतिविधि बन्द गर्नेदेखि हवाइ सम्पर्क विच्छेद गर्नेसम्मका काम गरिरहेका छन् ।
नेपालले भने भ्रमण वर्ष २०२० सफल बनाउन भन्दै कोरोना प्रभावित देशबाट आउने पर्यटकलाई समेत कुनै रोकावट प्रवेश दिइरहेको छ । सरकारले कोरोना प्रभावित देशका पर्यटकलाई स्वास्थ्य जाँचबिना नै खुरुखुरु नेपाल आउन दिएकोले देशमा सङ्क्रमणको उच्च जोखिम रहेको सरोकारवाला बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ । यस्तो अवस्थामा सरकारले भ्रमण वर्ष सफल बनाउने नाममा पर्यटक भित्र्याउन जोड दिन नहुने बरु कोरोना रोकथामको तयारी गर्नुपर्ने आवाज उठेको छ ।सर्वसाधारण र सरोकारवालाले कोरोना प्रभावित देशका पर्यटकको नेपाल आगमनलाई केही समयका लागि स्थगित गरेर कोरोना भाइरसको सङ्क्रमण देशभित्र फैलिन नदिन सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाण्डौको गोल्फुटारका कृष्ण न्यौपाने भन्नुहुन्छ, ‘चीन र अमेरिकाले त रोग नियन्त्रण गर्न सकेका छैनन् । हामीकहाँ आइपुग्यो भने के हालत हुन्छ, त्यसको अनुमान पनि गर्न सकिन्न । अहिले नै मास्क पाउन गाह्रो छ । अब सिटामोल पनि अभाव हुन सक्छ । त्यसैले पर्यटकीय गतिविधि रोक्नुपर्छ ।’
उहाँले थप्नुभयो, ‘यस्तो बेलामा पनि पर्यटक ल्याउनुपर्छ भन्दै हुनुहुन्छ । यदि मन्त्रीलाई नै कोरोनाको सङ्क्रमण लाग्यो भने के गर्ने ! यसको उपचार त सिङ्गापुर गएर पनि हुनेवाला छैन ।
’बानेश्वर बस्ने निशा अधिकारी पनि भ्रमण वर्ष औपचारिक रुपमै स्थगित गर्नुपर्ने बताउनुहुन्छ । ‘नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । पहिले नागरिक बाँचे भने मात्र पछि पर्यटक आउन सक्छन् । त्यसैले पर्यटकसँगै कोरोना आउन नदिन भ्रमण वर्ष नै रोक्नुपर्छ र कोरोना लागेका देशबाट पर्यटक आउन दिनु हुन्न ।’ यस्तै मनमैजु बस्ने दिवस भट्ट पनि भ्रमण वर्ष स्थगित गर्न माग गर्नुहुन्छ ।