Breaking News

होटलमा बस्ने र घर पुग्ने खर्च नभए विदेशमा अलपत्र परेका कुनैपनि नेपाली स्वदेश आउन नपाउने

 

         विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् ।

सरकारले दैनिक पाँचसय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् ।विदेशबाट आउने कुनैपनि व्यक्तिले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन् ।

यस्तै नेपालमा आएपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् ।
यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिन सम्म होटलमा बसेको खर्च, घर सम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पष्ट पारे ।

टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ ।त्यसरी आउने यात्रुले सातदिन सम्म आफ्नै खर्चमा काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा बस्नुपर्ने लिखित प्रतिवद्धता पनि टिकट खरिद गर्दाको अवस्थामा नै जनाउनु पर्नेछ ।