Breaking News

चितवनका एक कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी

कोरोना संक्रमण पुष्टि भएका चितवनका दुईमध्ये एक जनालाई आज भरतपुर अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । बेलायतबाट फर्किएपछि कोरोना संक्रमण पुष्टि भएको चितवनका आमाछोरामध्ये छोरालाई घर पठाउन लागिएको हो ।२७ वर्षीय छोराको बिहीबार र शुक्रबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको हो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आउनुलाई कोरोना संक्रमण निको भएको मान्ने गरिन्छ ।
आमाको पछिल्लो रिपोर्ट चाहिँ पोजिटिभ नै आएको अस्पतालले जानकारी दिएको छ । चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी आमा छोरामा बैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि दुबै जनालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ रहेको छ । जसमध्ये १२ जना निको भइसकेका छन् भने ३७ जना विभिन्न क्षेत्रका अस्पतालमा उपचाररत छन् ।