Breaking News

धादिङमा आरडीटी गरेर घर पठाइएका २३ जनामा संक्रमण पुष्टि

र्‍यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो ।घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा २३ जनामा संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले जानकारी दिए ।
‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव थियो । त्यसैले आरडीटी गरेर पठाएका थियौं’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण भेटिएको छ ।’ यसरी संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ धुवाँकोटका ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना छन् ।
अब संक्रमितको परिवारका सबै सदस्यको पीसीआर टेस्ट गरिने उनले बताएका छन् ।