रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस , झन् अग्लिँदै छ रूपचन्द्रको आदर्श
अन्याय–अत्याचारको विरोध गर्दै समाज परिवर्तनका लागि जीवनपर्यन्त जुधे रुपचन्द्र विष्ट । भोका, नांगा र दबाइएकाहरूलाई जागृत गराउन मकवानपुरवासीका घर/घर पुगे ।
२०५६ असार ७ गते वीर अस्पतालमा अन्तिमपटक आँखा चिम्लिँदासम्म पनि सत्य र न्यायको पक्षमा उनको निष्ठा उस्तै थियो । आज २१ वर्ष बित्दा उनले छरेका चेतनाका बीउहरू लहलह मौलाइरहेकै छन् ।
आफ्ना लागि आफैं उठ्नुपर्ने विष्टको सन्देश आज पनि थुप्रैले सम्झिन्छन् । उनको कथनी र करनी कहिल्यै फरक भएन । गरिब, दुःखी र महिला जागरणको पक्षमा निःवार्स्थ ढंगले लागिरहे । बलिष्ठ हातपाखुरा र अग्लो कदका नभए पनि उनको इमान र निष्ठाको उचाइ निकै अग्लो रह्यो ।विष्टका आदर्श जीवनशैली र व्यवहार अहिलेका युवालाई मिथकजस्तो लाग्छन् । जात, नाता, गुट, सम्पत्ति र स्वार्थले राजनीति अपराधीकरणसँगै व्यापारीकरण भइरहेको छ । यस्तो अवस्थामा साढे तीन दशकअघिकै समयमा विष्ट ‘जातभन्दा जनता, नाताभन्दा न्याय र स्वार्थभन्दा सत्य ठूलो हो’ भन्दै हिँड्थे । देशभन्दा दल ठूलो, दलभन्दा गुट र गुटभन्दा जात ठूलो भन्ने मान्यता मौलाइरहँदा विष्टको भनाइले वर्तमानलाई समेत कटाक्ष गरिरहेको छ ।
वर्तमानमा दलका नेता र कार्यकर्ताको शैलीसँग तुलना गर्दा दुई दशकअघि निधन भएका विष्टको विचार र निष्ठाको उचाइ अझ अग्लिँदै गएको देखिन्छ ।
दलका नेताहरू अहिले विष्टका व्यवहार, विचार र चिन्तनको प्रशंसा मात्र गर्दैनन्, अनुयायी भएको स्वाङ पनि पार्छन् । तर व्यवहारचाहिँ उल्टो गर्छन् । ‘जो जति शक्तिमा छ, समाज सप्रे—बिग्रेमा त्यो त्यति जिम्मेदार छ’ –शक्तिमा भएकाहरू जिम्मेवार नहुने, दोषजति अरूलाई दिन प्रवृत्ति मौलाइरहेको अवस्थामा उनको यो भनाइ निकै सान्दर्भिक छ । हैसियतअनुसारको अधिकार खोज्ने तर कर्तव्यपालन नगर्ने प्रवृत्तिको विष्टले विरोध गरेका छन् । जुन वर्गको राजनीति रोज्यो त्यसैको जिन्दगी बाँच्न खोज्ने, धन–मानको आकर्षणबाट कहिले विचलित नहुने विष्टको आदर्श चरित्र नेपाली राजनीतिज्ञका लागि प्रेरणास्रोत बन्न सक्नुपर्छ । तर, अहिले देखिन्छ ठ्याक्कै उल्टो ।
विष्टका बारेमा विद्यावारिधि गर्न तयारीमा जुटिरहेका गण्डकी प्रदेशका उद्योग, पर्यटनमन्त्री विकास लम्सालको आँखामा ‘रूपचन्द्र विष्ट कथनी र करनी एउटै भएका समाज परिवर्तनका अथक योद्धा हुन् ।’ राजनीति मात्र होइन, मकवानपुरको दामन–पालुङ क्षेत्रलाई आधुनिक खेतीतर्फ उन्मुख गराउने एउटा किसान नेता पनि हुन् उनी । मुलुकमा यस क्षेत्रले बेमौसमी तरकारी उत्पादनमा कमाएको ख्याति उनकै देन हो । त्यही कर्मथलो दामन, पालुङ वज्रवाराही, चित्लाङ, टिस्टुङ र आग्रा गाविसलाई समेटेर विष्टकै स्मृतिमा सरकारले थाहा नगरपालिका नामकरण गरेको छ । ‘थाहा’ विष्टको अभियानको नाम हो ।
गाउँको विकासमा गाउँकै बासिन्दाको श्रम र लगानी हुनुपर्छ भन्ने अवधारणाबाट दामन—पालुङमा २०३१ सालमा उनले सञ्चालन गरेको निर्यातजन्य वस्तुमा कर उठाउने प्रचलनले अहिले संस्थागत विकास गरेको छ । यस क्षेत्रको विकास निर्माणको आधार यही कर बनेको छ । थाहा नगरपालिका बनेपछि पनि निर्यातजन्य वस्तुमा कर उठाउने कार्य निरन्तर छ । जनचेतनाका संवाहक र दुःखी, गरिबका पहरेदार विष्ट ‘श्रमिकको राजनीति पुँजीपति, छाप्रोको राजनीति दरबार, मोहीको राजनीति तल्सिङ र महिलाको राजनीति पुरुषले गरेर हुँदैन, उनीहरू आफ्ना लागि आफैं जागेर अघि बढ्नुपर्छ’ हिँड्थे । मार्क्सवादका शब्दलाई जनबोलीमा उतारेर गाउँबस्तीमा पुर्याउँथे ।
अन्याय नगर्ने अनि नसहने हक्की स्वभावका विष्टका अगाडि अन्यायीहरू टिक्दैनथे । ‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा’ भन्ने अवधारणा बोकेर हिँडेका उनले विरोधीसामु कहिल्यै शिर झुकाएनन् । बाल्यकालदेखि मृत्युपर्यन्त विद्रोह नै गरिरहे । प्रत्येक क्षणका विद्रोही, यथास्थितिमा बस्न नचाहने व्यक्ति ।
३० को दशकको सुरुमा उनले चलाएको ‘थाहा’ आन्दोलनको मुख्य सार थियो— निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय रहन कठिन रहने उनको तर्क थियो । कसैको पक्ष भएर काम गर्न सजिलो हुन्छ तर त्यसले विवेक गुमाउँछ भन्दै उनी अभियानमा जुटे । कुनै दलसँग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढंगले व्यवहार गर्थे । सबैसँग एकनासको व्यवहार । उनी राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाजसुधारक हुन् ।
२०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट निर्वाचनमा पर्चा विक्री गरेर लडेका थिए । प्रतिद्वन्द्वीहरू भित्ताभरि फोटो टाँसेर आफ्ना प्रचार गर्थे । उनी भने स्थानीयसामु पुगेर आफ्ना विचार सुनाउँथे । निर्वाचनलाई तडकभडकपूर्ण नबनाउन, गरिबले पनि निर्वाचन लड्न सक्ने बनाउन र स्वच्छ प्रतिस्पर्धा गराउन अहिलेका राज्यका निकायहरूले विष्टबाट सिक्नुपर्छ ।
मकवानपुरलाई प्रगतिशील राजनीतिको उर्वराभूमि बनाउने र निष्ठाको राजनीति गर्ने विष्टप्रति २०४६ सालका आन्दोलनकारी शक्तिहरूले न्याय गन सकेनन् । उनीहरूले यसप्रति पश्चात्ताप गर्दै उनका जीवनशैली, व्यवहार र जनताप्रतिको निष्ठालाई इमानदारीपूर्वक अनुसरण गर्नुपर्छ । विष्टको व्यवहार, चिन्तन र निष्ठालाई राजनीतिक कार्यकर्ता, नेता र समाजका अगुवाले व्यवहारमा उतार्ने प्रयास गर्नुपर्छ ।
तत्कालीन शिखरकोट गाविसको घर्तीखोलामा १९९० पुस २६ गते जन्मेका विष्टले समाजसुधारको अभियान दामन—पालुङबाट प्रारम्भ गरेका हुन् । त्यहाँका अधिकांश बासिन्दाको बोलीचाली, हाउभाउ र अनुहारमा उनकै झल्को आउँछ । विष्टको यो कर्मथलोमा स्थानीयको पहलमा उनको पूर्णकदको सालिक निर्मार्ण गरिएको छ ।
विष्टका विचार, चिन्तन र आदर्श–व्यवहारलाई कुनै पनि राजनीतिक दर्शनको घेरामा कैद गर्न हुँदैन । उनी बाँचुन्जेल सत्य र न्यायका पात्र भए । चुनावी आरोह–अवरोहबाट उनलाई पृथक् राख्नुपर्छ । उनका आदर्श चरित्रहरू मुलुकका नेताहरूले थोरै प्रतिशत मात्र अवलम्बन गर्न सके पनि जनताले परिवर्तनको अनुभूति गर्न पाउने थिए । त्यही नै उनीप्रति पनि सच्चा श्रद्धाञ्जलि हुनेछ ।