Breaking News

थाहा नगरको जनकल्याण मावि नमूना विद्यालय छनौट

पालुङ– थाहा नगरपालिका जनकल्याण माध्यमिक विद्यालय देशभरबाट नमूना विद्यालय छनौटमा परेको छ । सरकारले देशका एक सय विद्यालय मध्ये मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याणलाई पनि नमूना विद्यालयमा समाहित गरेको हो । विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार देशभरका १ सय विद्यालयलाई नमूना विकासका लागि छनोट गरेको थियो । थाहा–३ घट्टेचौरमा रहेको जनकल्याण छनौट हुनेमा जिल्लाकै एकमात्र विद्यालय हो ।
विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहका १ सय वटा विद्यालयहरू छनोट गर्न १६ असोज २०७६ मा आह्वान गरेपछि विद्यालयहरुको आवेदनको आधारमा नमुना विद्यालय छनौट गरिएको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले जनाएको छ । विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमशः विद्यालय विकास गर्ने लक्ष्य रहेको जनाइएको छ ।
जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीले विद्यालयमा नमूना विकास छनौटमा परेपछि खुशी लागेको प्रतिक्रिया दिए । उनका अनुसार गतवर्षको तथ्यांक अनुसार विद्यालयको कक्षा १ देखि १२ सम्म १ हजार १ सय ७६ विद्यार्थी अध्ययनरत् छन् । जनकल्याण माध्यमिक विद्यालयमा प्रविधिक शिक्षातर्फ २०७३ देखि कृषि वाली विज्ञान पनि अध्यापन हुँदै आएको छ । कृषि बाली विज्ञानमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी पढ्ने गरेको कार्कीले जानकारी दिए । प्राविधिक शिक्षाको लागि विद्यालयमा इच्छुक गरिव तथा जेहन्दारको लागि निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ ।