थाहा नगरमा रहेको क्वारेन्टाइन खाली
पालुङ:थाहा नगरपालिका क्वारेन्टाइनमा रहेका सबैजना डिस्चार्ज भएका छन् । थाहा नगरपालिकाबाट नमूना संकलन गरी पठाइएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका सबै जनालाइ घर पठाइएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए ।पछिल्लो पटक थाहा नगरपालिकाले ५४ पिसिआर परीक्षणका लागि नमुना छनौट गरि पठाइएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको थियो । हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थाहा नगरबाट नमुना पठाइएकोमध्ये आज बिहीबार २८ जनाको रिपोर्ट आएको छ । त्यसैगरी बुधबार २२ जनाको र मंगलबार ४ जना गरि सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
थाहानगरको क्वारेन्टाइनबाट नमुना संकलन गरिएको एक जना भारतीय नागरिकमा कोरोना पोजिटिभ भेटिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरेर पठाइएको थियो । यस्तै हेटौंडामा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुखमा कोरोना संक्रमण भेटिएको पछि उनको सम्पर्कमा रहेका थाहानगरका व्यक्तिहरुको पनि स्वाब संकलन गरेर पठाइएको थियो ।
यसबाहेक थाहा नगरमा भेटिएका अन्य दुईजनाको सम्पर्कमा आएका र थाहानगर बाहिरबाट आएका व्यक्तिहरुको पनि स्वाब संकलन गरेर पठाइएको थियो । यसरी पठाइएका सबैमा कोरोना भाइरसको संक्रमण नरहेको परीक्षणले देखाएको स्वास्थ्य शाखाका प्रमुख बलामीले जानकारी दिए ।
थाहा नगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने निर्णय गरे सँगै हिजो थाहा नगरपालिका वडा नम्बर १ ओखरबजार क्षेत्रबाट १४ जनाको नमुना संकलन गरि हेटौँडा पठाएको र सो को नतिजा आउन बाँकी रहेको स्वास्थ शाखा प्रमुख बलामीले बताए ।








