Breaking News

सासू र नन्दले सिलौटाले हानेर अकालमै अस्ताइन २३ वर्षीया सुस्मिता

हेटौंडा–४, गर्दोईमा घरमै मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या आशंका गरिएको छ । तीन दिनअघि घरको भान्छा कोठामा विभत्स अवस्थामा भेटिएको सुस्मिताको शवको अनुसन्धान गर्ने क्रममा हत्या देखिन आएको छ । गत मंगलबार बिहान सुस्मिताको शव भान्छामा भेटिएको थियो । मृतक थापाको टाउकोमा गम्भीर चोट पुगेको घटना स्थलमा पुगेका स्थानीयबासीहरुले बताएका छन् ।
ससुरा र नन्द पक्राउ
मकवानपुर प्रहरीले उक्त घटना प्रति गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा मृतक सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहीबार सुस्मिताका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ ।
घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको भनिए पनि सुस्मिताको शव भन्छामा विभत्स अवस्थामा भेटिनुले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार मृतकको ससुरा ५८ बर्षीय प्रकाश थापा र मृतककी नन्द २३ बर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।
करिब ६ महिना अगाडि मात्रै सवारी दुर्घटनामा थापाको श्रीमानको मृत्यु भएको थियोे । प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमानको दुर्घटना विमा र जीवन विमाको ठुलो रकम सुस्मिता थापालाई आउँदै थियो । उक्त रकमको लागि पनि परिवारकै सदस्यहरुबाट हत्या भएको आशंका बलियो भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरीक्षक(डीएसपी) ईन्द्रबहादुर रानाले घटना बारे अनुसन्धान भइरहेकोले थप जानकारी दिन नसकिने बताए । घटनाको अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताएका छन् ।