Breaking News

अस्ट्रेलियामा ८५ वर्षकी वृद्ध महिलासँग लाखौं ठग्ने नेपाली जोडी जेल चलान

अस्ट्रेलियामा एक अन्तर्राष्ट्रिय ठगी गिरोहका सदस्य रहेका २ जना नेपाली पक्राउ परेका छन् । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेका यी दुईलाई सिड्नी अदालतमा उपस्थित गराइयो । पुलिसले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो ।
अस्ट्रेलियाको समाचार वेबसाइट नाइनन्यूजका अनुसार यी दुईलाई बेइमानी र धोखाधडीबाट सम्पत्ति आर्जन गरेको ५ वटा आरोप र जानीजानी आपराधिक क्रियाकलापमा संलग्न भएको ३ वटा आरोप लागेको छ । उनीहरुले ८५ वर्षकी एक महिलालाई झुक्याएर हजारौं डलर ठगी गरेका थिए ।
बताइएअनुसार पीडित ८५ वर्षकी महिलालाई एउटा फोन कल आएको थियो । फोन गर्नेले आफू उनको बैंकबाट बोलेको भन्दै उनको बैंक खाता रोक्का भएकोले उनले अर्को खाता खोल्नुपर्ने बताएका थिए । फोन गर्नेले महिलालाई एक कुरियरलाई ३ हजार डलर दिन भनेका थिए । कुरियरका कर्मचारी महिलाको घरमै आउने र त्यो रकम उनको खातामा जम्मा गरिने बताइएको थियो ।
महिलाले कुरियल वालालाई ३ हजार डलर दिइन् र यसबारे पुलिसलाई पनि जानकारी दिइन् । पछि महिलालाई फेरि अर्को फोन कल आयो । फोन गर्नेले उनलाई अझै ५ हजार डलर दिनुपर्ने बताए । पुलिसले नेपाली जोडीलाई सोमबार ती महिलाको घरमा पैसा लिन आएको बेला पक्राउ गरेको हो ।
अनुसन्धानमा भारतमा आधारित रहेर अस्ट्रेलियामा सक्रिय सदस्यहरुबाट ठगी धन्दा चलाइरहेको गिरोहबारे खुलासा भएको छ । यो गिरोहले अस्ट्रेलियामा यस्तै गरी झुक्याएर पैसा ठग्ने र विद्युतीय माध्यमबाट विदेश पठाउने गरिरहेका थिए । अनुसन्धानकर्ताहरुले यस्तै किसिमका फोन कल आएका अन्य पीडितहरुको पनि पहिचान गरेका छन् ।
गिरी र भट्टराईलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा मजिस्ट्रेट रोबिन डेनेरको अगाडि उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । उनीहरुको जमानत अदालतले पहिले नै खारेज गरिसकेको थियो । उनीहरुलाई अदालतले जेल पठाएको छ र अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।