Breaking News

सलहले मकवानपुरमा मकैबालीमा क्षति पुर्‍यायो

मकवानपुर । हेटौंडा उपमहानगरपालिकासँग सीमाना जोडिएको मकवानपुर गढी र बकैया गाउँपालिकामा सलह कीरा देखिएको छ ।शनिवार बिहान मकवानपुरको पूर्वीक्षेत्र बकैया गाउँपालिका, हेटौंडाको हर्नामाडीको केही क्षेत्र र गढीमा देखिएको हो । मकवानपुर गढी गाउँपालिका वडा नं २ र ३ मा सलह कीरा देखिएको गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले जानकारी दिइन् ।
उपाध्यक्ष रुम्बाका अनुसार सलह कीराको एक हुल उडेर मकवानपुर गढी–३ धमिलेस्थित दोर्जे लामा स्याङतानको मकैबालीमा क्षति पुर्‍याएको हो । सलह कीरा देखिएसँगै त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।
केहीले टिनको छाना बजाउने, थाल बजाउने गर्दै भागाभाग भईरहेको उपाध्यक्ष रुम्बाले बताइन् । त्यस्तै मकवानपुरको बकैया गाउँपालिका तथा हेटौंडाको वडा नं १८ को केहि क्षेत्रमा समेत सलह किरा देखिएको छ ।
बकैया गाउँपालिकाको बारा जिल्लासंग जोडिएको वडा नम्बर १, २, र ७ का विभिन्न क्षेत्रमा देखिएको स्थानीयले बताएका छन् । सलह कीरा शनिवार बिहान मात्रै छिमेकी जिल्ला बारा, पर्सा, सर्लाहीमा प्रबेश गरेको थियो ।
सलह मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो । मकवानपुरसँग सीमाना जोडिएको बारामा देखिएको सलह कीरा बकैयाको विभिन्न क्षेत्रमा देखिएको स्थानीयले बताएका छन् ।
सलह आएको विषयमा आफुलाई स्थानीय जनप्रतिनिधि तथा नागरिकले खबर गरेको बताउँदै बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले यो विषयमा थप जानकारी लिइरहेको बताइन् ।
बकैया–७ हात्तिखोलाका अनुराग फुँयालले हजारौंको संख्यामा सलह कीरा मकैबारीमा देखिएको बताए ।
बकैया–४ का विष्णु थापाले पनि बिहानैबाट हजारौंको संख्यामा सलह देखा परेको जानकारी दिएका छन् । खेतबारीको अन्नबाली सखाप पार्ने भयले स्थानीय किसान चिन्तित बनेका छन् ।