Breaking News

सलह जम्मा पारेर ल्याए किलोको २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा

प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।
‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’
सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।
३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।