Breaking News

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।
श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।
यही जेठ १२ र १७ गते दुई पटक पिसिआर गर्दा नकारात्मक परिणाम आएपछि गत सोमबार निजको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेम खड्गाले बताए ।
शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले निजलाई आजै घर पठाइएको जानकारी उनले दिए ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ ।
जसमध्ये २ सय २२ जना पुरुष छन् भने ५६ जना महिला रहेका छन् ।
प्रदेशअन्तरगत प्रदेश १ मा ४८ जना, प्रदेश २ मा १ सय ९ जना, बाग्मती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ८० जना र सुदुरपश्चिम प्रदेशबाट ७ जना गरेर जम्मा २ सय ७८ जना संक्रमित निको भएका छन् ।